आशलाग्दा कवि र उनको संवेदनाको विज्ञप्ति कवितासङ्ग्रह
नेपाली साहित्यका आकाशमा थुप्रै नव साहित्यकारका कृतिहरुले स्थान पाई सफलताका शिखरहरु चढ्न सफल भैसकेका छन् । यिनै साहित्यको भीडमा एउटा नव साहित्यकारका रुपमा आफूलाई परिचित बनाउन सफल सहित्यकारका रुपमा अदीप्त प्रकाशलाई चिन्न सकिन्छ ।
काठमाडौंको काँठमा जन्मिएर त्यहीको रहनसहनमा हुर्किबढेका साहित्यकारका रुपमा उदाउँदै आएका प्रतिभाको रुपमा उनी रहेका छन् । संख्यात्मक भन्दा पनि गुणात्मक रचना दिनु पर्छ भन्ने मान्यता राख्ने अदीप्तको वास्तविक नाम प्रकाश थापा हो । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा जन्मिएका अदीप्त “अरुलाई खुसी बनाउन कविता लेख्दिनँ— म पूजारी कहाँ हूँ र । न म हारजितको लागि कविता लेख्छु ।” यस्तै यस्तै विचार र भावना भएका कवि अदीप्त विशेष गरेर साहित्यका काव्यविधामा आफूलाई स्थापित गराउन प्रयासरत छन् ।
साहित्य र साहित्यिक कार्यक्रममा रमाउने हराउने कवि अदीप्त कविताहरु भनेका भावहरु हुन्, संवेदनाहरु हुन् भन्छन् । स्नातकोत्तरसम्मको अध्ययन गरी लामो समय शिक्षण पेशामा आवद्ध अदीप्तको अन्तर्मनका प्रतिध्वनिहरु(२०६६) गजल सङ्ग्रह प्रकाशित भैसकेको छ भने अन्य फुटकर रचनाहरु पत्रपत्रिकामा छापिएका छन् । हाल उनको संवेदनाको विज्ञप्ति नामक कविता सङ्ग्रह प्रकाशित भएको छ । यस पछि उनको मुक्तक सङ्ग्रह बजारमा आउँदैछ ।
अदीप्त प्रकाशको यो कविता सङ्ग्रह वर्तमानको कलात्मक ऐना र भविष्यको ऐतिहासिक रेखा हो । भोलि हामी रहँदैनौँ तर यो कविता सङ्ग्रह अदृश्य रुपमा यसका कवि र कविले देखेका घटना र चेतनामा हामी सबै बाँचिरहेका हुनेछौं भन्दै लेखक तथा पत्रकार अश्विनी कोइराला लेख्दछन् ।सानो तर आकर्षक देखिएको पुस्तक ९९ पृष्ठमा संरचित छ । यसमा बा समाचार हेर्न बन्द गर्नोस्, अझै सिक्न बाँकी छ, खटप्वालहरु, संवेदनाको विज्ञप्ति, माया,सहिद,फेरि देशको मानचित्र पढाउँदा, बाग्मती सिम्फोनी जस्ता शीर्षक बनाएर ५२ वटा कविताहरु प्रकाशन भएका छन् । फरक फरक शैली र क्षेत्रका कविताले पाठकको विभिन्न आस्वादनको काम गरेको छ । सुमनबज्र बज्राचार्यको आवरण कला, तथा प्रज्ञा आधुनिक छापाखाना कमलादीमा यसलाई मुद्रण गरिएको छ ।
यो मूलतः कविता काव्य विद्या अन्तर्गत कविता विद्यामा रहेर रचना गरिएको कृति हो । यसमा समाजमा भएका देखिएका विषयलाई कविताको रुप दिइएको छ । बा समाचार हेर्न बन्द गर्नोस् सानो कविताबाट यसको सुरुवात गरिएको छ । समाचार समाचार जस्ता छैनन् भन्दै समाचारले बा के हृदय छुन नसकेको कुरा बताएका छन् ।
उनका कतिपय कविताले मानव मस्तिक खलबलाएका पनि छन् । उनी भन्छन्
ढलेका गजुरसँगै
आस्थाहरु पनि केही डगमगाएको बेला
पुर्खाका धरोहरहरु टेकाहरु बीचमा थर्थराएको बेला
केही शिल्पी हातहरु
केही दारा आँटहरु
केही गाढा साथहरु चाहिएको छ
देश बनाउने हातहरु चाहिएको छ कविताबाट
त्यस्तै उखु किसानको समस्याहरुलाई उनले आफ्नो कविताको माध्यमबाट उनीहरुको आँसु नलागोस् । किसानलाई सम्मान गर्नु पर्छ भन्दै उनी भन्छन्
उसको उखु मुटुको किला बनेर फर्कन्छ
उज्यालो दिन फेरि फर्किदैन
केवल अनिदो रा तबनेर फर्किन्छ
उसको आँखाको पानी बनेर फर्किन्छ ।
त्यस्तै लाश शीर्षकको कवितामा उनी लाश के हो र यो किन संवेदना हराएको छ भनेर सोच्दछन् । मान्छे जिउदो लास बनेको छ आज । ऊ जसले जे गरे पनि प्रतिक्रिया जनाउँदैन जसरी लाशले जनाउँदैन भन्दै मान्छेबाट आश गर्नु व्यर्थ छ भन्ने निराशा तर यथार्थवादी भाव व्यक्त गर्दछन् ।
कतिपय कविताहरुमा कवि भावुक पनि भएका छन् । देश र देशवासीको पीडा व्यथाहरुलाई आफ्नो कवितामा उनी व्यक्त गर्दछन् । शिक्षा र शिक्षाको कुरा पनि केवल कागजीमात्र भए, शिक्षाले बाँच्न सिकाउनु पर्ने हो तर बाँच्नका लागि त पैसा चहिदो रहेछ । सर्टिफिकेटहरु कागजी मात्र भएका छन् आजका मासिहरुको ।
सर्टिफिकेटले नजियाउने रहेछ
जिउन त दल,दौलत या दबाउने तागत चाहिने रहेछ ।
त्यसैले ते बाल्यकालमा रटेका
धनभन्दा विद्या ठूलो
तरवारभन्दा कलम बलियो
यी वादविवादका शीर्षक आजभोलि तीर बनेर
छाती घोच्न आइपुग्छन्
अझै सिक्न बाँकी छ कविता पेज २७
कविता सङ्ग्रह पढ्दै जाँदा लाग्छ म कवि सँगसँगै देश डुलेको छु । कतै गाउँका कुरा गरेका छन् भने कतै सहरको कुरा । कहिले उनी पूर्वी पहाडी जिल्लाको बयान गर्छन् त कहिले सुदूर पश्चिमको छाउपडी प्रथाले निम्त्याएको समस्यालाई देखाउँदछन् । पोखराको सुन्दरतालाई वणर्न गर्न पनि कवि छुटेका छैनन् । उनका कवितामा कतै देशको चर्चा पाइन्छ भने कतै वागमतीको चर्चा पनि पाइन्छ । यस प्रकार यस कविता सङ्ग्रहमा आईपुग्दा कविले आफूलाई निख्खारपन आइसकेको कुरा व्यक्त गरेका छन् ।सरल भाषाका माध्यमबाट गद्य शैलीमा रचना भएको यस कविता सङ्ग्रहका सबै कविता उत्तिकै पढौ पढौ लाग्ने रहेका छन् । कविलाई शुभकामना अनि बधाई ।
उमेश रेग्मी
हाल पोखरा ।
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com