––––––––––––––––––––––––
उत्कृष्ट कविताहरू

प्रथम - देशको नक्सा
सर्जक - कविता राई, भोजपुर
म कोरिरहेकी छु
देशको सग्लो नक्सा
खाली पानामा कोर्छु
असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार,
क्यानभासमा आफ्नी आमाको मुहारचित्र ।
अनायास करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु,
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखुन्जेल किच्चु, टाल्छु र मेट्छु धाँजाहरू
विषाक्त हावा बोकी आउने आँधी उडाउनै खोज्छ मलाई
बलेसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउनै खोज्छ मलाई
छानाबाट खसेका पानीका तप्कनासमेत
शिरदेखि पाउसम्मै भिजाउँछन् मलाई
तर पनि उभिरहन्छु पहाडजसरी
र घरको मूल खाँबो समातेर
कोरिरहन्छु सहस्र रेखाहरू ।
ओ सिमाना काटी जाने चराहरू !
पहाड भत्काएर बगिजाने खोलाहरू !
देवल उठाइरहेका पौरखी धमिराहरू !
माटोको दरबार बनाइरहेका कमिलाहरू !
सुन !
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले
तीन कोटि स्वाधीन मुटुलाई
जहाँ उम्रिएर प्रेम र विश्वासको बीउ
लटरम्म खुसीको घाम फल्छ
छामिहेर त,
आँखा चिम्लेर आफ्नै मुटुको ढुकढुकी
हो धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै
छुटेका मनहरू समेत एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा।
––––––––––––––––––––––––
द्वितीय कविता - डढेलोपछि पनि वसन्त आउँछ
सर्जक - अमृता स्मृति, धादिङ
हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मग्मगाउँथे हार्दिक भावहरू
चम्चमाउँथे प्रेयसीका पाउजुहरू
र घिस्रिरहन्थ्यो बूढो लौरी
आमाको घाँसको भारीसँगै
गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धून
ती सबै सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए
माथिल्लो घरे माइला बा?
भोलि यही बाटोमा भेटिएला नभेटिएला
आमाका पैतालाका डोबहरू
न कुनै आहत, न कुनै पर्दा
समय आफैँ मलामी, आफैँ मुर्दा बनेर लम्पसार छ ।
ए छिरिङ ! ए खान !
चित्र प्रदर्शन गर्न किलोको आड चाहिएजस्तै
यो देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज
भर्नै बाँकी छ, यो देशको घारमा महको चमक
झुल्किन्छ, हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको कैदी समयमा पनि
तराई, चूरे, भावर र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन कुन जातका फूल फक्रिसके होलान् ?
जङ्गलमा डढेलोपछि पनि रुखबिरुवा पलाउँछन्
आखिर, जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।
––––––––––––––––––––––––
तृतीय कविता - आमा म आएँ अब
सर्जक - सविता बराल, ताप्लेजुङ
हाँस्छन् शैल मनुष्य पल्लवित छन् बोल्छन् शिला दूरमा
इन्द्रेणीमय जात धप्प थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टि कला अमूल्य निधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्न जननी आएँ म आएँ अब ॥
मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान छर्छ जगमा विज्ञानको सागर
रोदी मादल धाननाच जितिया बन्धुत्वका रक्षक
गाऊँ गान सयौँ थुँगासँगसँगै आमा म आएँ अब ।
टोपी बख्खु तयार छन् सडकमा नाङ्गा नरोऊन् कतै
किङ्कर्तव्यविमूढ बन्नु नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु चिराइँतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ म आएँ अब ।
मेरा पाउ समृद्ध छन् शिर उँचो छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दैछु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौला द्वार सुशान्तिका प्रगतिका खोजेर आएँ अब ।
बोकी माथ म विश्वसाथ नउठे के काम यो शैलको
कोशीझैँ अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमा निचोर्छु पसिना आमा म आएँ अब ॥
आफ्नै आँगनमा निचोर्न पसिना आमा म आएँ अब ॥
----------
-प्रकाश सिलवाल
कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?
घरी कर्ममौरीहरुलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफँैलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घन्टौँ कर्कश सम्बोधन गर्छ !
यो कस्तो सङ्क्रमण हो
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
रानीमहलका जोडीले झैँ
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !
यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरु
प्रिय बुद्धभूमिविरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरु…
सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !