बा ! समाचार हेर्न बन्द गर्नाेस्

तपाईंले हेर्दैमा बदलिने छैन देश
फेरिने छैन काँचुली ; आउने छैन समृद्धि ।

समाचारले बोल्दैन निमुखाको आवाज
बजाउँदैन भोकको विज्ञापन
देखाउँदैन आशलाग्दो दृश्य चित्र ।

केवल टेलिभिजनको पर्दा बदलिएको हो बा !

कान्छी मिजार्नीको फाटेको चोली उस्तै छ
आधा आङमै कटाउँछे हिउँको सिरेटो

सेते दमाईको भकारी अझै रित्तै छ
आधा पेटमै भरिन्छ उसको भोकको आँत

झिल्के बादीले अझै पाएको छैन नागरिकता
सायद उसले जीवनभर लगाउन सक्नेछैन बाबुको टुङ्गो

छविलाल चौधरीको लागेको छ उठिबास
ऊ एक्लैले के जोगाउन सक्थ्यो र सीमाको पिल्लर ?

पासाङ फुटीले फेरि गुमाएकी छ अर्को सन्तान
उसको गोडाले नाप्न सकेनन् स्वास्थ्य चौकीसम्मकाे बाटो

दिलमाया भट्टले बनाउने छैन अब देशको नक्सा
तुइनले छिनालेको छ उसका भविष्य कोर्ने औँलाहरू

सुन्दरी राउटे अब फेरि पस्ने छैन मान्छेको बस्ती
सहरले निमोठिदिएको छ उसका टुसाउँदा रहरहरु ।

खड्गबीर बोहोरा फेरि फर्कने छैन आफ्नो गाउँ
बन्धकीको घरखेत निखन्न आफैं कैद परेको छ काठको बाकसमा ।

हो बा ! यस्ता असरल्ल समाचारहरु दिनदिनै मिल्किन्छन्
ती समाचार हैनन् , झुत्रे दैनिकी हुन्
जनताका दैनिकीहरु समाचार बन्न सक्दैनन् ।

समाचार बन्न त -
काटिनु पर्छ रिबन - रेटिनु पर्छ घाँटी
तोडिनुपर्छ कानुन - फोडिनुपर्छ बम
जोडिनु पर्छ गुट - तोडिनु पर्छ सम्बन्ध
बेचिनु पर्छ देशको अस्तित्व - मच्चिनु पर्छ हङ्गामा
बगाउनु पर्छ बस्ती - मगाउनु पर्छ अनुदान
आउनु पर्छ आँधी - जानुपर्छ पहिरो ।

त्यसैले बा ! समाचार हेर्न बन्द गर्नाेस्
किनकि समाचारमा बदलिएको छैन
तपाईंको पालाको देश -
उस्तै छ मेरो पालामा पनि ।

© अदीप्त प्रकाश
०३/१९
(* कवितामा प्रयुक्त नामहरू काल्पनिक हुन् । कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछन् । )