यो त उनको गाउँ हो, उनैलाई पर्खिबसेको
—म त पाहुना थिएँ, उनकै पछिपछि हिँडिरहेको !
पुराना सत्यहरू भत्किएछन्
बनेछन् नयाँ-नयाँ झुटहरू.....!
अहो ! यतिपछि पुगेको गाउँमा
उठाउँदै हिँड्न मिल्ने थुप्रै स्मृतिहरू रहेछन्
मायाले सुम्सुम्याईन धेरैबेर बाख्राका पाठाहरू
काखमा लिइन् त्यो गाउँको चोखो हावा
र, छाडिदिईन् आफूलाई एकछिन्, त्यहीँ धुलौटे माटोमा ।
त्यो पहाडमा उठिरहेको कुहिरोजस्तो
छिन-छिनमा पुर्याउँछिन् आफूलाई कता-कता
हात फैलाएर आकाशमा, ताराहरू समाउँछिन्
बन्दी ओठ खोलेर, मुस्कानका पहाडहरू उभ्याउँछिन्
यो त उनको गाउँ हो, यसैले चिन्छ उनको पदचाप
—म त पाहुना थिएँ, उनकै पछिपछि दगुरिरहेको !
भन्न त मैले यो उनकै गाउँमा
उनकै कायालाई साक्षी राखेर भनेँ—
माथि देविस्थान रहेछ त्यहाँसम्म हामी पुग्छौ कि पुग्दैनौ ?
एकपटक फर्काईदेऊ किशोरी उमेरमा आफैलाई
म हेर्नेछु यो पुरानो गाउँको बाटोमा
तिमीले टेक्दै हिँडेका फूलका पाईलाहरू !
भन्नु त थुप्रै-थुप्रै छ तर सरमले
लजाएको छ बाटो, भागिरहेको छ घाम
यो त उनको गाउँ हो, साँझ उनैलाई बास दिन तयार भएको
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com