के तिमीलाई थाहा छ,            
गोविन्द नेपाल 

गजबारको विश्वसनीयतामाथि
ओैँला उठाउँदा के हुन्छ ?
छेस्किनको इमानमाथि
आशङ्का उमार्दा के हुन्छ ?
ढोका या भित्ताको आदर्शमाथि
अन्यथा सोच्दा के हुन्छ ?
अन्तरापमा झुन्डिएको
कमजोर ताल्चामाथिको
बलवान विश्वासले होइन
तिम्रो परिवारलाई
ढुक्कले ढौँटरी मार्न पठाएको ?!
आफ्नै घरप्रति
अविश्वासको अँगालो हालियो भने
के मस्तसँग निदाउन सकिएला ?
दुनियाँ
विश्वासको बैशाखी टेकेर उभिरहेछ
भलै
त्यही विश्वासको छातिमा कुल्चेर
कसैले विश्वासकै घाँटी अँठ्याउँछ
कसैले विश्वासकै पिठ्युँमा छुरा रोप्छ !
मानिलिऊ,
विश्वास भनेको घर हो
र विश्वासघाती चाहिँ
पृथ्वीको पापी कम्पन (भूकम्प)
बुने,
अब तिमी नै भन त,
त्यही कम्पनको अविश्वास झेल्दै
हामी घरमा बस्ने कि नबस्ने ?!
•••••••••••••