सञ्जीव राई 

विजेता दुःख
हजारौँ खुशीहरुलाई परास्त गरेर
खडा गरेको
यो,मेरो महान साम्राज्य हो-दुःखको
ओँठको दायाँ बायाँ उभिएर
थर्थरी काँपिरहेका भयभित मुस्कान,
मुठ्ठी उचाली उचाली
उज्यालो सपनाको गीत गाउँदा गाउँदै
अचानक आँशुका सिपाहीहरुद्वारा समातिएर
आजीवन कैद भोगिरहेका
विद्रोही आँखाको निरीहता,
दिनरात क्रुरताको कोर्रा खाएर
प्राणको भिख माग्दै गरेका मरणासन्न सम्वेदना,
छल, कपट र घातले लखेटी लखेटी
हैरान पारेका
टिठलाग्दो हृदय
यिनीहरू सबको छातीमा कुल्चेर
म,यो साम्राज्यको सम्राट
अट्टहास लगाइरहन्छु
विष्फोटक ठट्टा बाँधेर शरीरभरी
कहिलेकाहीँ
ओँठको ढोका उघार्न
जबर्जस्ति घुस्न खोज्छन्
केही आत्मघाती हाँसोहरू,
लाख कोशिसका बावजुद
चढ्न नसकी
मनको अग्लो पर्खालमा अढेसिएर झोक्राइरहन्छन् डिप्रेस्ड रहर
हजारौँ खुशीहरुलाई परास्त गरी
विजेता दु:खहरु रमाइरहेको देखेर
म, यो दुखको साम्राज्यको सम्राट
अट्टहास लगाइरहन्छु... ....