स्वमृत्यु
हिँड्दा हिँड्दैको बाटो जब पट्यार लाग्न थाल्यो
उसले नयाँ बाटो खोजेको धेरै दिन भएथ्यो ।
बोल्दा बोल्दैको शब्दहरू जब भारी लाग्न थाल्यो
उसले मौन बस्न खोजेको धेरै दिन भएथ्यो ।
लेख्दा लेख्दैको अक्षरहरू जब सर्प लाग्न थाल्यो
उसले कलम नछोएको धेरै दिन भएथ्यो ।
सुन्दा सुन्दैको धुनहरु जब चित्कार लाग्न थाल्यो
उसले मनकै ध्वनि नसुनेको धेरै दिन भएथ्यो ।
हुनसक्छ , कानमा बतासले साउती मारेर
बोलाउँथ्यो उसलाई आफूसँग उडान भर्न ।
आँखामा सपना भरेर भुईं कुहिरोले
बोलाउँथ्यो आफूजस्तै कतै छिनमै विलीन हुन ।
रातमा चन्द्रमाले खुलेर मुसार्थ्यो कि
उसको बदन उत्कर्षमा पुग्ने गरी ।
के सोच्दो हो मान्छे ?
कस्तो देख्दो हो सपना अघिल्लो रात
कसरी जाँदो हो मुटुमा सुनामी
कसरी चल्दो हो श्वास प्रश्वासको तुफान
कति उर्लँदो हो दिमागमा उफान
कसरी टुट्दा हुन् विश्वासका जगहरू
कसरी निस्कँदा हुन् सुस्केराका ज्वालामुखीहरु
किन सोच्दो हो संसारलाई बोझ
आफूले आफैंलाई क्रुसिफाई गर्नु अघि ?
किन भुल्दो हो मान्छेले आफैंलाई
स्वमृत्यु गर्नु अघि ??
© अदीप्त प्रकाश
2 Comments
Death is beautiful.
ReplyDeleteमार्मिक
ReplyDeletePost a Comment
email : prakashadipt@gmail. com