- पालो

 बैशाख जेठ  महिनाको

खुल्ला आकाशमा 

तिम्रो नाङ्गो आँखाले

हेर्ने क्षमता नभएको 

त्यो शक्तिशाली 

प्रबल ज्वाजल्यमान सूर्यलाई

आजका हिउँदे दिनहरुमा

कलङ्करुपी कुहिरो र हुस्सुले ढाक्दैमा

र चन्द्रमा जस्तै शितल र शान्त देखियो भन्दैमा

अट्टहास हासो हाँसेर

उसलाई गिल्ला नगर

बादलभित्र लुक्दै

हामी सङ्ग भाग्दै गरेको लाक्षी नसम्झ

किनभने ,

तिम्रो त्यो क्षणको हाँसो 

फेरि प्रलापमा परिणत हुन के बेर ?

यदि रात दिनमा बदलिएन भने,

फेरि तिमीले प्रकाशपुन्ज देख्न पाउँदैनौ भने,

तिम्रो आँखाको ढकनी बन्द नभै 

आँखा बन्द भए सरी भयो भने,

तिम्रो बाच्ने सार के ?

जीव जीवात्माको पृथ्वीमा रहनाको अर्थ के ?

त्यही भएर तिमी यही सम्झ

तिमी, तिमी लगायत सबै जीवात्माहरु 

सबै चक्रमा घुमिरहेका छन् ।

कथम् कदाचित कुनै दिन

तिमी खाल्डोमा पर्यौ भने 

कति जना तिमी जस्तै हाँस्लान्

जब सूर्य हराउदा तिमी हाँसेथ्यौ ?

- राजेन्द्र श्रेष्ठ 

काठमाडौं